भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क तनाव व्यवस्थापन शिविर
काठमाडौ,असोज ७ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौँमा निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ।
नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकका लागि निःशुल्क तनाव व्यवस्थापन तालिम तथा उपचार सेवा सञ्चालन गरेको हो।
सङ्घले काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बा, नुब्री गुम्बा र रातो गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितका लागि शिविर सञ्चालन गरिरहेको छ।
सङ्घका महासचिव रामदेव महतोका अनुसार बाढीका कारण प्रभावित नागरिकमा परेको मानसिक तनाव कम गर्न विगत एक सातादेखि उनीहरूलाई राखिएको काठमाडौँका विभिन्न गुम्बामा पुगेर शिविर सञ्चालन भइरहेको छ।
शिविरमा अकुपञ्चर, अकुप्रेसरसहित तनाव कम गर्न विभिन्न परामर्श सेवा प्रदान गरिँदै आएको छ। सेवापछि प्रभावित नागरिकलाई तनाव व्यवस्थापनमा सहयोग पुगेको सङ्घले जनाएको छ।
सङ्घका अनुसार दैनिक एक सयभन्दा बढी प्रभावितले शिविरबाट सेवा लिइरहेका छन्। बाढी प्रभावितको आवश्यकता हेरी शिविरलाई निरन्तर सञ्चालन गरिने सङ्घले जनाएको छ।

