नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’



काठमाडौँ,असोज ७। चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार गरिएको संस्करण हस्तान्तरण गरेको छ।

चीनको मौसम विज्ञान प्रशासन (सीएमए)का अनुसार चीन–नेपाल सीमास्थित केरुङ–रसुवा नाकामा गएको घातक पहिरोपछि गत अगस्ट २९ मा नेपालको मौसम विज्ञान विभागलाई ‘माजु’को क्लाउडमा आधारित परीक्षण संस्करण उपलब्ध गराइएको हो।सीएमएका अनुसार नेपालका लागि विशेष रूपमा तयार गरिएको ‘माजु’ संस्करण विकास गर्दा नेपालको स्थानीय भौगोलिक अवस्था, विपद्का विशेषता, पूर्वाधार तथा उपलब्ध तथ्याङ्कलाई आधार बनाइएको छ।

चीनले पहिरोपछि नेपाललाई मौसम पूर्वानुमान तथा पूर्व–सूचनासम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। विपद् राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन उच्च–रिजोल्युसन र छिटो अद्यावधिक हुने मौसम पूर्वानुमान तथा पूर्व–सूचना सामग्री उपलब्ध गराइएको सीएमएले जनाएको छ।उत्तरपश्चिमी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुम्कीमा आयोजित दोस्रो चीन–मध्य एसिया मौसम सहयोग मञ्चमा सीएमएले नेपालका लागि तयार गरिएको ‘माजु’ संस्करण हस्तान्तरण गरेको हो।

‘माजु’ बहु–जोखिम पहिचान, पूर्व–सूचना तथा मौसमसम्बन्धी जोखिम व्यवस्थापनका लागि विकास गरिएको एआईमा आधारित प्रणाली हो। यसको नाम समुद्रकी चिनियाँ संरक्षक देवी ‘माजु’को नामबाट राखिएको हो।

कार्यक्रममा सीएमएले सन् २०२६/२०२७ का लागि मध्य एसियाली देशमा ‘माजु’ प्रणाली लागू गर्ने योजना पनि सार्वजनिक गरेको छ। चीन र मध्य एसियाली देशबीच मौसमसम्बन्धी सहयोग विस्तार गर्नुका साथै क्षेत्रीय विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्नु योजनाको उद्देश्य रहेको जनाइएको छ।

सीएमएका प्रमुख चेन झेन्लिनका अनुसार ‘माजु’ हाल सात देशमा प्रयोगमा रहेको छ भने ५० भन्दा बढी देशमा यसको क्लाउडमा आधारित परीक्षण भइरहेको छ। प्रणालीको अन्तर्राष्ट्रिय प्रयोगलाई थप विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्