सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै काभ्रेका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता
काभ्रे,असोज ७ । काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रहसहित सचेतना अभियान सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटरले मंगलबारदेखि जिल्लाका सम्भावित जोखिमयुक्त क्षेत्रमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका हुन्।
सुरक्षा निकायले दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायतका क्षेत्रमा रहेका विद्यालय तथा सार्वजनिक स्थलमा पुगेर सम्भावित विपद्बाट जोगिन अपनाउनुपर्ने सावधानीबारे स्थानीयवासीलाई जानकारी गराइरहेका छन्।
मनसुनजन्य विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका स्थानीय तह तथा सुरक्षा निकायलाई आग्रह गरेको छ। साथै स्थानीय विपद् व्यवस्थापन समितिको तयारी तथा अवस्थाबारे जानकारी गराउनसमेत अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार असोज ८ देखि १२ गतेसम्म वर्षा हुने मौसम पूर्वानुमान सार्वजनिक भएकाले जिल्लाका सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। “विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहलाई पनि तयारी अवस्थामा रहन पत्राचार गरिएको छ,” अधिकारीले भन्नुभयो।
सम्भावित विपद्को समयमा जनशक्ति परिचालन गर्न आवश्यक स्रोतसाधन उपलब्ध गराउन जिल्लास्थित सुरक्षा निकायले सम्बन्धित निकाय तथा स्थानीय तहसँग अनुरोध गरेको छ।काभ्रेपलाञ्चोकमा १३ वटा स्थानीय तह रहेका छन्।

