पोखराबाट आजदेखि दुबईमा फ्लाई दुबईको नियमित उडान



कास्की,असोज ७— पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले नियमित उडान सुरु गर्न लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको छ। फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिने तयारी गरिएको छ।

अध्यागमन, भन्सार, कार्गोलगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। उहाँका अनुसार विमानस्थल सञ्चालनपछि केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेकाले विमानस्थल व्यवस्थापन उत्साहित छ।

फ्लाई दुबईबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै तयारी पूरा भएको बताउनुभयो। राजस्व सङ्कलन, वैध व्यापार सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीका लागि आवश्यक व्यवस्थापन मिलाइएको उहाँले जानकारी दिनुभयो।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वव्यापी हवाई ट्रान्जिट केन्द्रका रूपमा रहेको र फ्लाई दुबईले एक सय २० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने अपेक्षा गरिएको बताउनुभयो। दुबई हुँदै विश्वका विभिन्न सहरमा यात्रा गर्न सकिने भएकाले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा यसले सहयोग पुग्ने उहाँको भनाइ छ।

रोजगारी तथा अध्ययनका लागि नेपाली युवा दुबई जाने क्रम बढिरहेकाले पोखराबाटै उडान सञ्चालन हुँदा यात्रुलाई सहज हुने श्रेष्ठले बताउनुभयो। यसैबीच पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्तिसुरक्षाको व्यवस्थाबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको हो।

प्रतिक्रिया दिनुहोस्