सिद्धबाबा सुरुङमार्गमा मङ्सिर १५ भित्रै सवारी सञ्चालन गर्ने तयारी



बुटवल,असोज ७— निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिर १५ गतेभित्रै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ। सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले मुख्य सुरुङसहित आवश्यक पूर्वाधार निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याउँदै सवारी सञ्चालनको तयारी थालेको हो।

आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङभित्रको सडक निर्माण तथा अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेकाले मङ्सिरभित्रै सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ। बर्खा र भोटेकोशी बाढीका कारण निर्माण सामग्री ल्याउन ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका करिब एक महिना प्रभावित भएको उहाँले बताउनुभयो। अब एक–दुई दिनमै आवश्यक निर्माण सामग्री आइपुग्ने र बाँकी काम तीव्र गतिमा अघि बढाइने उहाँको भनाइ छ।

भोटेकोशी बाढीले सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि सवारी सञ्चालनको पूर्वनिर्धारित योजना प्रभावित भएको थियो। अहिले सुरुङभित्र सडकको पिच गर्ने काम सम्पन्न गरी रङरोगन भइरहेको छ भने प्राविधिक भवनको फिनिसिङको काम पनि जारी छ। सुरुङको लाइनिङ अर्थात् भुइँ तथा भित्ता ढलानसहितका सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भइसकेको छ। अब मुख्य रूपमा विद्युतीय तथा यान्त्रिक प्रणालीसम्बन्धी काम बाँकी रहेको आयोजना प्रमुख बास्तोलाले जानकारी दिनुभयो।

योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको हालसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ। मुख्य सुरुङसहित बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट तथा सुरुङभित्रको प्रिमेन्टको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो।

आयोजनाअन्तर्गत तीनवटा बाइपास निर्माण गरिएको छ।सुरुङभित्रको काम सम्पन्न भएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम अघि बढाइनेछ। सुरुङको बाहिरी भागलाई पहिरो तथा ढुङ्गा खस्ने जोखिमबाट जोगाउन रकसेड, रकफल बेरियर र स्लोप प्रोटेक्सनका संरचना निर्माण गरिने इन्जिनियर आनन्दले जानकारी दिनुभयो।

एक हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो भने २०७९ सालदेखि निर्माण सुरु भएको हो। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा निर्माणको जिम्मा लिएको छ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यधिक पहिरो जाने जोखिमयुक्त क्षेत्रका रूपमा रहेको छ। बर्खामा मात्रै नभई सुक्खायाममा समेत सुक्खा पहिरो र ढुङ्गा खस्ने भएकाले यस खण्डलाई सुरक्षित बनाउन सरकारले आफ्नै स्रोतमा सुरुङमार्ग निर्माण गरिरहेको हो।

सिद्धबाबा सुरुङमार्ग सञ्चालनमा आएपछि पहिरो तथा ढुङ्गा खस्ने जोखिमका कारण हुने आवागमनको समस्या कम हुने अपेक्षा गरिएको छ। यसबाट लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्