प्रतिनिधिसभाबाट तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौं,असोज ७ । प्रतिनिधिसभाको आजको बैठकले तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ र भुक्तानी फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । यस्तै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रस्तुत गर्नुभयो । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पनि बैठकमा पढेर सुनाउनुभयो ।
यसअघि आकस्मिक समयमा सांसदहरूले मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति तथा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका लागि राहत प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले जनताको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको जिम्मेवारी भएकाले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म भारी वर्षा र बाढीको सम्भावना रहेको भन्दै सचेत गराइरहेको अवस्थामा सम्भावित विपद्बाट नागरिकलाई सुरक्षित राख्न सरकारले समयमै आवश्यक तयारी गर्नुपर्ने माग पनि सांसदहरूले गर्नुभयो ।
विपद् आएपछि मात्र उद्धार र राहतमा केन्द्रित हुनुभन्दा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै सम्भावित जोखिम क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नुपर्नेमा सांसदहरूले जोड दिए । चाडपर्वका बेला राजमार्गमा सवारी चाप बढ्ने भएकाले जोखिमयुक्त सडकको मर्मतसम्भार तत्काल तीव्र बनाउनुपर्ने माग पनि बैठकमा उठ्यो ।
यस्तै भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको एकद्वार प्रणालीमार्फत सामूहिक मृत्यु घोषणा र द्रुत मृत्युदर्ताको व्यवस्था गर्नुपर्ने तथा अभिभावक गुमाएका बालबालिकाका लागि विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग सांसदहरूले राख्नुभयो ।
बैठकको आकस्मिक समयमा सांसद पार्वती विकले सुर्खेतको चौकुनेका गोपीराम जैसीले फरुवाले प्रहार गरी श्रीमतीको हत्या गरेको र छोरीहरू घाइते भएको घटनाबारे जानकारी गराउँदै महिलाको सुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि असोज ८ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

