नुवाकोट जिल्ला प्रशासनले भन्यो – ‘असोज ९ देखि ११ गतेसम्म हुने भारी वर्षामा उच्च सतर्कता अपनाउनु’
नुवाकोट,असोज ७ । नुवाकोटमा असोज ९ गतेदेखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको मौसम बुलेटिनका आधारमा यस क्षेत्रमा समेत भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले अनुरोध गरेको हो। भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, खोला तथा नदीको बहाव बढ्नुका साथै गेग्रान बहाव हुनसक्ने भएकाले सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा मौसमको प्रतिकूल अवस्थाका कारण जोखिम हुनसक्ने स्थानमा विशेष सावधानी अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ। विशेषगरी खोला, नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।
मौसमको अवस्था र सडकको अवस्थालाई हेरी जुनसुकै बेला सवारीसाधनको आवागमन रोक्न वा खुलाउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यसैले यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।
विपद्सम्बन्धी जानकारी तथा सहयोग आवश्यक परे नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

