नुवाकोटको पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत खुला
नुवाकोट,असोज ७ । रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माण कार्य पूरा भएसँगै पुलबाट आवतजावत पूर्णरूपमा सञ्चालनमा आएको छ।
बाढीका कारण पुलका लठ्ठा बटारिनुका साथै अन्य संरचनामा समेत क्षति पुगेको थियो। क्षतिग्रस्त लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न गरी आज पुलमा जाली राख्ने कार्यसमेत पूरा गरिएको हो।
पुल सञ्चालनमा आएपछि बेलकोटगढीका स्थानीयवासीसहित पुलमा निर्भर सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ। बाढीका कारण प्रभावित भएको स्थानीय यातायात तथा दैनिक जनजीवनसमेत पुनः सामान्य बन्दै गएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्रता दिएको जनाएको छ।
सरकारको तीव्र पहलकदमीका कारण धादिङ, नुवाकोट र गोरखामा रहेका अन्य १२ वटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत अन्तिम चरणमा पुगेको छ। ती पुलको मर्मत सम्पन्न भएपछि बाढीबाट प्रभावित क्षेत्रमा आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।

