पूर्वप्रधानमन्त्री नेपालसहितको टोलीसँग बाढी प्रभावितको अवस्था र पुनःउत्थानबारे सर्वपक्षीय छलफल



नुवाकोट,असोज ७ । नुवाकोटमा भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति, राहत वितरण, प्रभावित परिवारको बासस्थान व्यवस्थापन तथा पुनःउत्थानका विषयमा सर्वपक्षीय छलफल गरिएको छ।

बाढीबाट प्रभावित क्षेत्रको वर्तमान अवस्था, भइरहेको राहत तथा पुनःस्थापनाको कामबारे जानकारी लिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली बुधबार नुवाकोट पुगेको थियो।

टोलीलाई विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बाढीपछि जिल्लामा देखिएको क्षति, प्रभावित परिवारको अवस्था, राहत वितरण तथा तत्कालीन र दीर्घकालीन पुनःस्थापनाका लागि भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो।

सो अवसरमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित सर्वपक्षीय तथा सर्वदलीय छलफलसमेत गरिएको थियो। छलफलमा बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, प्रभावित परिवारको सुरक्षित बासस्थानको प्रबन्ध, राहत वितरण तथा पुनःउत्थानका लागि आवश्यक पहलका विषयमा छलफल भएको थियो।

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढीपछि प्रभावित परिवारको उद्धार, राहत तथा अस्थायी बासस्थान व्यवस्थापनसँगै दीर्घकालीन पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ।

छलफलमा बाढी प्रभावितको तत्कालीन आवश्यकता सम्बोधनसँगै पुनःउत्थान र पुनर्निर्माणका लागि राज्यका सम्बन्धित निकायबीच समन्वय र आवश्यक पहल बढाउनुपर्नेमा जोड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्