भारी वर्षाको जोखिममा असोज ८ र ९ गते विद्यालय विदा गर्न शिक्षा मन्त्रालयको आग्रह
काठमाडौं,असोज ७ । शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेकाले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।
मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यकतानुसार असोज ८ र ९ गते विद्यालयमा विदा गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले विद्यालय सञ्चालन गर्दा विद्यार्थी तथा विद्यालयमा कार्यरत जनशक्तिको सुरक्षालाई विशेष ध्यान दिन मन्त्रालयले भनेको हो।
त्यस्तै, सबै विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने गरी तोकिएका परीक्षा आवश्यकतानुसार स्थगित गर्न मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले सुरक्षित रहेका विद्यालय भवनलाई आवश्यक परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ।
अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन मन्त्रालयले अनुरोध गरेको छ। भारी वर्षाको समयमा बालबालिकाको आवतजावतमा विशेष सावधानी अपनाउन र जोखिमपूर्ण स्थानबाट टाढा राख्नसमेत मन्त्रालयले आग्रह गरेको छ।


