असोज ९ गते गते अति वर्षाको सम्भावना



काठमाडौं,भदौ ७ । मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार असोज ९ गते कोशीदेखि गण्डकी हुँदै लुम्बिनी प्रदेशसम्मका पहाडी तथा हिमाली क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

असोज ८ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सो दिन कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

असोज ९ गते भने देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

वर्षासँगै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी तथा अति भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्