दशैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन मन्त्री पोखरेलको निर्देशन
काठमाडौं,असोज ७ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया दशैँअघि नै टुङ्ग्याउन निर्देशन दिनुभएको छ।
मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहितका पदाधिकारी तथा सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम अघि बढाउन निर्देशन दिनुभएको हो।
शिक्षा नियमावलीको दशौँ संशोधनपछि देखिएका समस्या तथा विभिन्न क्षेत्रबाट आएका गुनासालाई सम्बोधन गर्न मन्त्री पोखरेलले पछिल्लो दुई महिनादेखि एघारौँ संशोधनको कामलाई प्राथमिकता दिँदै आउनुभएको छ। दशौँ संशोधनका कतिपय प्रावधानप्रति असन्तुष्टि आएपछि मन्त्रालयले विभिन्न सरोकारवालासँग चरणबद्ध छलफलसमेत गरेको थियो।
मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद तथा छलफल गरी रायसुझाव सङ्कलन गरेको थियो। तीमध्ये कतिपय छलफलमा मन्त्री पोखरेल स्वयं सहभागी हुनुभएको थियो।शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी तथा विज्ञहरूको टोलीले देशभरबाट सुझाव सङ्कलन गरेको थियो।
दशौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिसँग सम्बन्धित जटिलता तथा अन्य व्यवहारिक समस्यालाई सम्बोधन गर्नेगरी एघारौँ संशोधनको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको हो।
त्यसैगरी मन्त्रालयअन्तर्गत थाती रहेका ऐन तथा नियमावलीको कामसमेत शीघ्र टुङ्ग्याउने गरी अघि बढ्न मन्त्री पोखरेलले पदाधिकारीलाई निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ।मन्त्रिपरिषद्को गत असार १८ गते बसेको बैठकले शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ स्वीकृत गरेको थियो। त्यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावलीको नवौँ संशोधन भएको थियो।
मन्त्रालयका अनुसार दशौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने उद्देश्यले शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको छ।

