आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, पाँच संसदीय समितिको बैठक पनि



काठमाडौँ,असोज ८ — सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

राष्ट्रियसभाको बैठक भने अपराह्न १ः१५ बजे बस्नेछ। बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनुहुने कार्यसूची छ।

त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ। प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुनेछ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची पनि रहेको छ।

यसैबीच, आज विभिन्न पाँच संसदीय समितिको बैठक पनि बस्दैछ।निर्धारित कार्यक्रमअनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ।

प्रतिक्रिया दिनुहोस्