फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडियो
काठमाडौँ,असोज ८ — फ्लाई दुबईले सुरु गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको फ्लाई दुबईको जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए।
नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज बुधबार साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबईका लागि प्रस्थान गरेको महाप्रबन्धक निरौलाले बताउनुभयो। यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमितता कायम हुन नसकेको अवस्थामा फ्लाई दुबईको नियमित उडानले नयाँ आशा जगाएको उहाँको भनाइ छ।
पोखराबाट दुबई हुँदै युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्यमा जाने यात्रुलाई यो उडानले सहजता प्रदान गर्नेछ। यात्राको अवधि छोटिनुका साथै खर्चसमेत घट्ने अपेक्षा गरिएको छ। पर्यटकीय राजधानी पोखराबाट विदेशी पर्यटकले पोखरालगायत आसपासका पर्यटकीय क्षेत्रमा सिधै यात्रा गर्न सक्ने भएकाले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताइएको छ।
यसैगरी, वैदेशिक रोजगारी, अध्ययन तथा घुमफिरका लागि अरब मुलुकलगायत अन्य देश जाने यात्रुलाई पनि पोखरा–दुबई उडान लाभदायी हुने विमानस्थलका महाप्रबन्धक निरौलाले बताउनुभयो।सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई पोखरा विमानस्थलमा आकर्षित गर्न कूटनीतिक पहल गर्ने उल्लेख गरेको थियो। त्यसको केही समयपछि फ्लाई दुबईले नियमित उडान सुरु गरेको हो। दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो।
अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले पोखरा विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुटसमेत दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट गरिएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।
फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको छ। विश्वव्यापी हवाई ट्रान्जिट केन्द्रका रूपमा रहेको दुबईसँगको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ। फ्लाई दुबईले विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सञ्चालन हुने भएकाले पोखराबाट अष्ट्रेलिया, युरोप तथा अमेरिकाका विभिन्न सहर जाने यात्रुले एउटै टिकटमार्फत गन्तव्यसम्म यात्रा गर्न सक्ने व्यवस्था रहेको बताइएको छ।

