काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन



काठमाडौं,असोज ८ । शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा बुधबार काठमाडौँको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उहाँको निधन भएको हो।पारिवारिक स्रोतका अनुसार उहाँको अन्त्येष्टि बिहीबार गरिनेछ।सिन्धुलीमा १९९७ साल साउनमा जन्मिनुभएका डा. शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो।

नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका डा. शर्मा सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन र उच्च शिक्षाको विस्तारमा सक्रिय शिक्षाविद्का रूपमा परिचित हुनुहुन्थ्यो। उच्च शिक्षालाई प्राविधिक तथा व्यावसायिक धारसँग जोड्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उहाँले विभिन्न शिक्षालयमा रहेर काम गर्नुभएको थियो।

काठमाडौँ विश्वविद्यालय स्थापनापछि संस्थापक उपकुलपतिका रूपमा उहाँले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको नेतृत्वमा विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षामा नयाँ अभ्यासको सुरुआत गरेको थियो।

शिक्षाको गुणस्तर, अनुसन्धान तथा व्यावसायिक शिक्षाको विस्तारलाई प्राथमिकता दिनुपर्ने मान्यता राख्दै आउनुभएका डा. शर्माले नेपालको उच्च शिक्षा क्षेत्रमा लामो समय योगदान दिनुभएको थियो। उहाँको निधनले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्