आजदेखि वर्षा झन् बढ्ने, आइतबारसम्म भारीदेखि अति भारी वर्षाको जोखिम
काठमाडौं,असोज ८ । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर वर्षा भएको छ। पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा बढी वर्षा भएको छ भने हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।
लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा रहेका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णालीका हिमाली भेगबाहेक देशका अन्य अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम थप बढ्नेछ। देशका केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा राति भारी वर्षाको सम्भावना रहे पनि लामो समयसम्म निरन्तर भारी वर्षा हुने अवस्था देखिएको छैन। पर्सिसम्म हल्कादेखि मध्यम तथा बेलाबेलामा भारी वर्षाको क्रम जारी रहने उहाँले बताउनुभएको छ।आइतबारसम्म देशका धेरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै रहेकाले बुधबारदेखि कोशी, बागमती र गण्डकीमा वर्षाको गतिविधि बढेको हो।
मौसम विभागले जारी गरेको विशेष बुलेटिनअनुसार आगामी आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा अति भारी वर्षाको सम्भावना छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णालीमा भारी वर्षा हुनसक्ने जनाइएको छ।
सम्भावित भारी वर्षा र हिमपातको जोखिमलाई ध्यानमा राख्दै हिमाली क्षेत्रमा पदयात्राका लागि पुगेकाहरूलाई तत्काल सुरक्षित स्थानमा फर्किन तथा यात्रा गर्ने तयारीमा रहेकालाई यात्रा स्थगित गर्न महाशाखाले आग्रह गरेको छ। असोज ९ देखि ११ गतेसम्म निरन्तर वर्षा हुनसक्ने भएकाले बाढी र पहिरोको जोखिम बढ्ने भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न मौसमविद्हरूले अनुरोध गरेका छन्।
हिमाली क्षेत्रका लागि रेड अलर्ट जारी गरिएको छ। मौसमसम्बन्धी थप जानकारीका लागि टोल–फ्री नम्बर ११५५ मा फोन गरी १ थिचेर जानकारी लिन सकिने जनाइएको छ।
यसैबीच, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमानको समयावधि तीन दिनबाट बढाएर पाँच दिन पुर्याएको छ। नेपालभरका स–साना नदीमा आकस्मिक बाढीको जोखिमसम्बन्धी पूर्वानुमानसमेत २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म गर्न थालिएको केन्द्रले जनाएको छ।
खराब मौसम र विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले आजदेखि असोज १२ गतेसम्म लामो दूरी तथा रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।महासङ्घले यात्रा गर्नुअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन तथा अत्यावश्यकबाहेक यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरेको छ।

