पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध, विभिन्न सडकमा राति सवारी चलाउन रोक



काठमाडौं,असोज ८ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै ज्यामिरेघाटमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सडकमा खसेको पहिरो हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ।

यसैबीच, वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै सवारी सञ्चालन गर्न दिइने भएको छ। त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा पनि बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै सवारी सञ्चालन गर्न दिइनेछ। यी सडकखण्डमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

बीपी राजमार्गमा पनि आजदेखि चार दिनसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। पछिल्लो समय लगातार वर्षा भइरहेकाले सडकमा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै यस्तो व्यवस्था गरिएको हो।

यातायात व्यवसायीहरूले आगामी केही दिन लामो दूरी तथा रातिको समयमा हुने यात्रा सकेसम्म नगर्न यात्रुहरूलाई आग्रह गरेका छन्। अत्यावश्यक अवस्थामा यात्रा गर्नुपरे सम्बन्धित सडकको अवस्था, मौसम तथा प्रशासनले जारी गरेका सूचनाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्