खनालको व्यस्त कूटनीतिक भेटवार्ता, ग्रेनाडासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ, असोज ८ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनालले विश्व नेतृत्वसँग द्विपक्षीय तथा बहुपक्षीय छलफललाई तीव्रता दिनुभएको छ ।
महासभाका अवसरमा मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घको शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइसँग साइडलाइन भेटवार्ता गर्नुभयो । भेटमा उहाँले विश्वशान्ति तथा सुरक्षाको प्रवर्धनका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालले पुर्याउँदै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले व्यक्त गर्दै आएको विश्वास र सहकार्यप्रति आभार व्यक्त गर्दै नेपालले संयुक्त राष्ट्रसङ्घसँगको दीर्घकालीन सहकार्यलाई उच्च महत्व दिएको बताउनुभयो । उहाँले पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल इच्छुक रहेको बताउनुभयो ।
उपमहासचिव लाक्रोइसले विश्वशान्ति स्थापनामा नेपाल र नेपाली सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । हाल करिब १२ वटा संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा चार हजार तीन सयभन्दा बढी नेपाली सैनिक तथा प्रहरीले सेवा दिइरहेका छन् । संयुक्त राष्ट्रसङ्घको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परे नेपाल १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तयार रहेको मन्त्री खनालले बताउनुभयो ।
मन्त्री खनालले बुधबार ग्लोबल साउथका मुलुकको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुभयो । भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशङ्करले आयोजना गर्नुभएको बैठकमा उहाँले ग्लोबल साउथका मुलुकको विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नियम पालना गर्ने अवस्थाबाट नियम निर्माण गर्ने भूमिकामा अघि बढ्नुपर्ने बताउनुभयो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजना गर्नुभएको विशेष रात्रिभोजमा पनि मन्त्री खनाल सहभागी हुनुभयो । रात्रिभोजमा विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिले भोटेकोशी हिमबाढीबाट नेपालमा भएको क्षतिबारे चासो राखेका थिए ।
महासभाको साइडलाइनमा मन्त्री खनालले विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरिरहनुभएको छ । भेटवार्तामा भोटेकोशी हिमबाढीबाट भएको क्षति, जलवायु न्याय, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग र नेपालमा आयोजना गरिने दाता सम्मेलनका विषयमा छलफल भइरहेको न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।
बुधबार मन्त्री खनाल र भारतीय विदेशमन्त्री डा. जयशङ्करबीच पनि भेटवार्ता भयो । भेटमा भोटेकोशी हिमबाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको सहयोगप्रति मन्त्री खनालले कृतज्ञता व्यक्त गर्नुभयो । दुवै पक्षले नेपाल–भारतबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्य अघि बढाउने विषयमा जोड दिएका छन् ।
त्यस्तै, मन्त्री खनालले माल्दिभ्सकी विदेशमन्त्री इरुथिसाम एडमसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो । भेटमा भोटेकोशी हिमबाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा उपलब्ध गराएको मानवीय सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
यसै क्रममा नेपाल र ग्रेनाडाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आयोजित समारोहमा परराष्ट्रमन्त्री खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको हो ।

