भारी वर्षाको जोखिमपछि दुप्चेश्वरका विद्यालय दुई दिन बन्द



नुवाकोट, असोज ८ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै असोज ८ र ९ गते गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी पूर्वानुमान बुलेटिन तथा शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको पत्रअनुसार असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको उच्च सम्भावना रहेको जनाइएको छ ।

भारी वर्षाका कारण हुनसक्ने सम्भावित विपद् तथा जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । साथै, सम्भावित जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन पनि गाउँपालिकाले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

गाउँपालिकाको शिक्षा अधिकृत सीता देवी शर्माले जारी गर्नुभएको सूचनामार्फत विद्यार्थी, शिक्षक तथा अभिभावकलाई मौसमको अवस्था हेरी आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यसैबीच जिल्लास्थित शिक्षा समन्वय इकाईले शिक्षा तथा खेलकुद मन्त्रालयको परिपत्र अनुसार सबै विद्यालय बन्द गर्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्