जलवायु प्रतिबद्धता कार्यान्वयनमा रूपान्तरण गर्न परराष्ट्रमन्त्री खनालको आग्रह



काठमाडौँ, असोज ८ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई अब निर्णायक रूपमा कार्यान्वयनमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आज आयोजित ‘जलवायु कार्य र न्यायपूर्ण रूपान्तरण’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव सामना गरिरहेका मुलुकका लागि प्रतिबद्धता कार्यान्वयनमा लैजानु अपरिहार्य रहेको बताउनुभएको हो।

उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहकार्य, स्रोतको परिचालन र न्यायपूर्ण रूपान्तरणमा जोड दिनुभएको छ। जलवायु संकटको प्रभाव बढी भोगिरहेका देशको आवश्यकता र प्राथमिकतालाई अन्तर्राष्ट्रिय जलवायु कार्यमा प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो।

मन्त्री खनालले जलवायु परिवर्तनसम्बन्धी घोषणा र प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्