जुफाल विमानस्थलमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, सबै यात्रु सकुशल



डोल्पा, असोज ८ । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ। जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन्।

नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज आज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार पांग्रामा सामान्य समस्या देखिएको हो। जहाज अहिले धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उहाँले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार जहाजमा सात जना विदेशी र छ जना नेपाली गरी १३ जना यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका छन्।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्