समानान्तर महाधिवेशनका लागि देउवा समूहले नुवाकोटमा श्रीराम श्रेष्ठलाई संयोजक तोक्यो
नुवाकोट,असोज ८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनका लागि नुवाकोट जिल्ला संयोजकमा श्रीराम श्रेष्ठलाई तोकेको छ ।
समानान्तर महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको हो । समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको छ । डा. कोइरालाले नै हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई पत्र दिइरहेका छन् ।
समूहले आगामी असोज १५ गते वडा अधिवेशन गर्ने र मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको नेता एनपी साउदले जानकारी दिए । उनका अनुसार जिल्लामा तोकिएका संयोजकहरूले सम्बन्धित जिल्लामा इतर समूहबाट गर्नुपर्ने आवश्यक तयारी र संगठनात्मक काम अघि बढाउनेछन् ।बागमती प्रदेशका ११ जिल्लामा संयोजक तोकिएका छन् ।
दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भिम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौँमा जयकृष्ण महर्जनलाई संयोजक तोकिएको छ । दोलखामा जयराम श्रेष्ठलाई सहसंयोजक तोकिएको छ भने भक्तपुरका संयोजक थापा जिल्ला सभापति हुन् ।
कोशी प्रदेशका आठ जिल्लामा डेकेन्द्र कुमार तामाङलाई पाँचथर, कृष्ण हुमागाईलाई झापा, रामकुमार जीसीलाई संखुवासभा, धर्मराज राईलाई भोजपुर, सुभाष पौडेललाई मोरङ, रोजन राईलाई खोटाङ, बालगोविन्द राजभण्डारीलाई ओखलढुंगा र बसन्त बस्नेतलाई उदयपुरको संयोजक तोकिएको छ । मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजक बनाइएको छ । मधेस प्रदेशका कुनै पनि जिल्लामा भने हालसम्म संयोजक तोकिएको छैन ।
गण्डकी प्रदेशका आठ जिल्लामा भुगोल थापालाई गोरखा, रामकृष्ण कँडेललाई लमजुङ, ऋषिराम काफ्लेलाई कास्की, नाचोङ गुरुङलाई मनाङ, रामकृष्ण मल्ललाई पर्वत, हिराबहादुर पुन मगरलाई म्याग्दी, सागर छन्त्याललाई बागलुङ र अशोक बस्ताकोटीलाई नवलपुरको संयोजक तोकिएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा विकाश घिमिरेलाई नवलपरासी पश्चिम, गुनाखर भुर्तेललाई रुपन्देही, अब्दुल मन्नान खाँलाई कपिलवस्तु, माधव नेपाललाई पाल्पा, लक्ष्मण पाण्डेलाई अर्घाखाँची, बेदबहादुर थापालाई गुल्मी, दत्तबहादुर बस्नेतलाई रुकुम पूर्व, मानबहादुर खत्रीलाई रोल्पा, ईश्वरसिंह विष्टलाई प्यूठान, गोपालराज शर्मालाई दाङ, कृष्ण कार्कीलाई बाँके र जग्गाप्रसाद पाण्डेलाई बर्दियाको संयोजक तोकिएको छ ।
कर्णालीका आठ जिल्लामा देउप्रसाद बुढालाई डोल्पा, हेम बुडथापालाई जुम्ला, कर्ण रावललाई मुगु, सुर्यबहादुर शाहीलाई हुम्ला, मातृका सिंहलाई कालिकोट, राजजंग शाहलाई जाजरकोट, मीनबहादुर विश्वकर्मा ‘मिलन’लाई दैलेख र ललित भट्टराईलाई सुर्खेतको संयोजक तोकिएको छ ।
त्यस्तै सुदूरपश्चिमका आठ जिल्लामा धनराज पण्डितलाई बाजुरा, हर्कजंगबहादुर सिंहलाई बझाङ, नरेन्द्रबहादुर सिंहलाई डोटी, सुरेन्द्र अवस्थीलाई दार्चुला, वीरबहादुर विष्टलाई बैतडी, डिल्लीराज जोशीलाई डडेलधुरा, पदम बोगटीलाई कञ्चनपुर र खेमबहादुर डगौरा थारुलाई कैलालीको संयोजक तोकिएको छ । कैलालीमा राम समझ रानालाई सहसंयोजक बनाइएको छ ।
कञ्चनपुरका संयोजक बोगटी यसअघि नै जिल्ला सभापति थिए । उनी अहिले संस्थापन पक्षविरुद्धको समूहमा उभिएका छन् । समानान्तर महाधिवेशनको तयारीका लागि तोकिएका जिल्ला संयोजकहरूले सम्बन्धित जिल्लामा संगठनात्मक गतिविधि अघि बढाउने बताइएको छ।

