भारी वर्षाको सम्भावनापछि पञ्चकन्याका विद्यालय तीन दिन बन्द



नुवाकोट,असोज ८ । भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानपछि नुवाकोटको पञ्चकन्या गाउँपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै आगामी असोज ९, १० र ११ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने जनाएको हो।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले असोज ९ देखि ११ गतेसम्म नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरेका छन्।

सम्भावित वर्षा तथा विपद्का कारण विद्यार्थी र विद्यालयमा क्षति हुन नदिन तथा सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको परिपत्रसमेतका आधारमा विद्यालय बन्द गरिएको हो।

गाउँपालिकाले वर्षात्को अवधिमा विद्यार्थी, अभिभावक तथा शिक्षकलाई सतर्कता अपनाउन आवश्यक सहजीकरण तथा निर्देशन गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।

विद्यालय बन्द रहे पनि विपद् प्रतिकार्यका लागि आवश्यक पर्न सक्ने भएकाले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई कार्यस्थलमै रहन अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्