बङ्गालको खाडीको न्यूनचापीय प्रणालीको प्रभाव, असोज ९ र १० गते अति भारी वर्षाको जोखिम
काठमाडौँ, असोज ८। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौँका सडक, चोक तथा बजार क्षेत्रमा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि ११ गतेसम्मका लागि चार दिने मौसम चेतावनी जारी गर्दै देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार असोज ९ र १० गते देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आवश्यक छ ।
असोज ९ गते बागमती, मधेश तथा कोशी प्रदेशका पश्चिमी भूभागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले ‘रेड अलर्ट’ जारी गरेको छ । असोज १० गते भने वर्षाको प्रभाव पश्चिमतर्फ सर्ने र कर्णाली, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको जोखिम रहने प्रक्षेपण गरिएको छ ।
भारी वर्षाका कारण नदी तथा खोलामा जल सतह बढ्न सक्ने, बाढी, डुबान, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने सर्वसाधारणलाई मौसम तथा बाढीसम्बन्धी सूचनामा ध्यान दिनसमेत आग्रह गरिएको छ ।

