बाढी प्रभावितका लागि विदुरमा एक हजार घर निर्माणको तयारी



नुवाकोट, असोज ८ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित बासिन्दाको पुनरुत्थानका लागि विदुर नगरपालिकाले प्रस्ताव गरेको सार्वजनिक जग्गामा एकीकृत बस्ती निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ।

विदुर नगरपालिका–२ स्थित कित्ता नं. ६०३ अन्तर्गत राममन्दिर क्षेत्रसहित आसपासमा पर्ने एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गामा बाढी प्रभावितका लागि बस्ती निर्माण गर्ने प्रस्ताव गरिएको हो। प्रस्तावित क्षेत्रको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा, आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत सरोकारवालाले स्थलगत अवलोकन गरेका छन्।

स्थलगत अवलोकनका क्रममा नगरप्रमुख राजन श्रेष्ठले प्रस्तावित क्षेत्रमा बस्ती निर्माणको सम्भाव्यता, अवसर तथा चुनौतीबारे मुख्यमन्त्रीसहित मन्त्री र सरोकारवालालाई जानकारी गराउनुभएको थियो। उक्त क्षेत्र बाढी, पहिरोलगायत विपद्का दृष्टिले सुरक्षित रहेको भन्दै बस्ती निर्माणका लागि उपयुक्त स्थानका रूपमा प्रस्ताव गरिएको नगरपालिकाले जनाएको छ।

संघीय सरकारले पुनर्निर्माणसम्बन्धी आवश्यक निर्णय गरेपछि बस्ती निर्माणको काम अघि बढाउन सकिने मुख्यमन्त्री थापामगरसहित प्रदेश सरकारका मन्त्रीहरूले जानकारी गराउनुभएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री पौडेलले पुनर्निर्माणका लागि आवश्यक कार्यविधि बनेमा बागमती प्रदेश सरकारले एक हजार घर निर्माणका लागि बजेट विनियोजन गरिसकेकाले तत्काल काम अघि बढाउन सकिने बताउनुभएको छ।

गत भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट विस्थापित तथा प्रभावित परिवारको सुरक्षित पुनर्स्थापना र दीर्घकालीन आवास व्यवस्थापनका लागि विदुर नगरपालिकाले सार्वजनिक जग्गामा एकीकृत बस्ती निर्माणको प्रस्ताव अघि सारेको हो।

प्रतिक्रिया दिनुहोस्