पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीमा अति भारी वर्षाको चेतावनी
काठमाडौँ,असोज ८ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति देशका पाँच प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। ती प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
यसैगरी शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ।
भारी तथा धेरै भारी वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने, सडक तथा यातायात प्रभावित हुन सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

