नुवाकोटमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द
नुवाकोट,असोज ८। भारी वर्षाको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाका प्रमुख सडकमा रातिको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार असोज ८ गतेदेखि असोज ११ गतेसम्म प्रत्येक दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म नुवाकोट हुँदै जिल्ला बाहिर जाने तथा अन्य जिल्लाबाट नुवाकोट भित्रिने सडकमा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।
मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरेकाले भूक्षय, बाढी, पहिरो, खोलानालामा पानीको बहाव बढ्ने तथा गेग्रान बहावको जोखिमलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
आवागमन बन्द हुने सडकमा टोखा–छहरे–त्रिशूली सडक, पासाङल्हामु राजमार्गअन्तर्गत ठुलोखोला–ककनी–पिपलटार सडक, गल्छी–त्रिशूली–बेत्रावती सडक, चौघडा–बाहुनबेँसी–सूर्यगढी–लच्याङ सडक, पिपलटार–दर्शनटार हुँदै कोलनी जोड्ने सडक, पुष्पलाल मध्यपहाडी लोकमार्गको नुवाकोट खण्डअन्तर्गत पट्टिभञ्ज्याङ–सामरी भञ्ज्याङ तथा ढिकुरे–बाहुनबेँसी–दुप्चेश्वर–घ्याङफेदी र कुटुङसाङतर्फका सडक रहेका छन्।
एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनलगायत अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाउनेछन्। जिल्ला प्रशासन कार्यालयले मौसमको प्रतिकूलता वा अनुकूलता तथा सडकको अवस्थालाई हेरी जुनसुकै बेला सवारी आवागमन रोक्न वा खुला गर्न सकिने जनाएको छ।
भारी वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा भूक्षयको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन र जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।
विपद्सम्बन्धी जानकारी तथा सहयोगका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको १२३४ र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

