असोज ९ देखि ११ गतेसम्म भारी वर्षा र हावाहुरीको सम्भावना, प्रधानमन्त्री शाहद्वारा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ,असोज ८ । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वतयारी तीव्र बनाएको जानकारी दिएका छन्। उनले पूर्वसावधानी अपनाउनु र सतर्कताका साथ कार्य गर्नु नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ। सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयवासीलाई सचेत गराउनुका साथै सम्भावित विपद् प्रतिकार्यका लागि तयारी गरेका छन्।
उनले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। राजमार्गका सुरक्षा जाँच चौकीले अघिल्लो जाँच चौकीसँग सम्पर्क गरी सडकखण्ड सुरक्षित रहेको सुनिश्चित भएपछि मात्रै सवारी साधन अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको पनि उनले बताएका छन्। जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन नगर्न निर्देशन दिइएको छ।
सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राखी जोखिमयुक्त सडकखण्ड नजिकै उत्खनन तथा सडक मर्मतका लागि आवश्यक भारी उपकरण पूर्वव्यवस्था गरी तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताएका छन्। सबै सडक डिभिजन कार्यालयलाई चौबीसै घण्टा सक्रिय रहन र सडक खुला वा अवरुद्ध रहेको अवस्थाबारे नियमित सूचना सार्वजनिक गर्न निर्देशन दिइएको छ।
हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न समन्वय गर्न व्यवसायीलाई आग्रह गरिएको छ। होटल व्यवसायी र स्थानीयवासीलाई समेत सुरक्षित बासस्थान तथा आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ। मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
प्रधानमन्त्री शाहले ७५३ वटै स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक पूर्वतयारी गर्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन निर्देशन दिइएको बताएका छन्। सार्वजनिक बिदाको अवधिमा पनि राष्ट्रसेवक कर्मचारीलाई आफू सुरक्षित रहँदै सम्भावित विपद् प्रतिकार्यमा तयारी अवस्थामा रहन भनिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै असोज ९ गते आवश्यकता अनुसार विद्यालयको पठनपाठन सञ्चालन नगर्न स्थानीय तहसँग समन्वय गर्न भनिएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई समेत मौसमको अवस्थाअनुसार तोकिएका परीक्षा स्थगित गर्न सकिने व्यवस्था गर्न निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन विशेष आग्रह गरिएको छ।
सबै अस्पताल तथा स्वास्थ्य चौकीलाई आवश्यक जनशक्ति र औषधि–सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई समेत सक्रिय अवस्थामा राखिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा आवश्यक खाद्यान्न मौज्दात कायम राख्न निर्देशन दिइएको छ। राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गर्ने व्यवस्था मिलाइने जनाइएको छ। मौसमको अवस्था देखाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनुचित मूल्यवृद्धि गर्नेविरुद्ध कडा कारबाही गर्न बजार अनुगमन तीव्र पार्न निर्देशन दिइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभर नागरिकलाई एसएमएसमार्फत मौसमसम्बन्धी सूचना पठाइएको र स्थानीय सञ्चारमाध्यममार्फत नियमित मौसम अपडेट तथा सावधानीका उपाय प्रसारण गर्न निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। दूरसञ्चार सेवा अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन आवश्यक जनशक्तिसमेत तयारी अवस्थामा राखिएको छ।
प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गरेका छन्। उनले सम्भावित विपद्का बेला सम्बन्धित निकायका आपत्कालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गर्दै ‘सावधान रहौँ, सुरक्षित रहौँ’ भन्ने सन्देश दिएका छन्।

