ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा १० घरमा क्षति
ताप्लेजुङ,असोज ९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी हुँदा १० वटा घरमा क्षति पुगेको छ।
बिहीबार दिउँसो करिब १ः४० बजे डङ्डु शेर्पाको ढुङ्गा, माटो र टिनको छाना भएको दुईतले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट आगलागी सुरु भएको थियो। आगो आसपासका घरमा समेत फैलिँदा ९ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने एउटा घरमा आंशिक क्षति पुगेको छ।
आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाका दुई वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ। आगलागीको कारण खुल्न सकेको छैन। घटनाबाट भएको भौतिक क्षतिको पूर्ण विवरणसमेत आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण पत्ता लगाउन तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

