असोज ९ र १० गते देशका विभिन्न क्षेत्रमा भीषण वर्षाको सम्भावना, मौसम विभागले रेड अलर्ट जारी
काठमाडौँ,असोज ८ । मौसममा बदलीसँगै आजदेखि देशका विभिन्न क्षेत्रमा भीषण वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले असोज ९ र १० गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै रेड अलर्ट जारी गरेको छ।
विभागका अनुसार असोज ९ गते पूर्वदेखि मध्यनेपालसम्मका हिमाली तथा पहाडी क्षेत्रमा र असोज १० गते मध्यनेपालदेखि पश्चिमतर्फका हिमाली तथा पहाडी क्षेत्रमा भीषण वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
असोज ९ गते दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कर्णालीका पहाडी भूभागका अधिकांश स्थान, मधेशका केही स्थान तथा सुदूरपश्चिमका पहाडी र तराई भूभागका केही स्थानमा समेत वर्षा हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।
असोज ९ गते राति पनि देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका अधिकांश स्थान तथा कोशी र बागमतीका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।
यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका अधिकांश स्थान तथा कर्णालीका पहाडी भूभागका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
असोज १० गते दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस्तै मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ।
असोज १० गते राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ। ती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशीका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्नेछ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा बागमतीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न, पहिरो तथा डुबानको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

