रोशी खोलाको जलसतह सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काभ्रे,असोज ९ । काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको जलसतहले सतर्कता तह पार गरेको छ। पनौती जलमापन केन्द्रमा आज बिहान ५ः३० बजे गरिएको मापनअनुसार रोशी खोलाको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जलसतह बढिरहेको भन्दै रोशी खोला आसपासका तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई बिहानसम्म विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले खोला तथा नदी किनारमा रहेका बासिन्दालाई जलसतहको अवस्थाबारे जानकारी लिइरहन र सम्भावित जोखिमबाट सुरक्षित रहन अनुरोध गरेको छ।
सूचना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सार्वजनिक गरिएको हो।

