प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता



न्यूयोर्क, असोज ९ । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे महासचिव गुटेरेससँग भेटवार्ता गर्नुभएको हो। उक्त समय नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे हो।

भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। उहाँले जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउँदै युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा गर्नुभयो।

महासचिव गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो।

भेटमा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा समेत छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्रको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न राष्ट्रसंघबाट आवश्यक समर्थन जुटाउने विषयमा पनि कुराकानी भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्