कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौं, असोज ९ । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गएराति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि रातभर पृथ्वी राजमार्ग बन्द गरिएको थियो। आज बिहान ५ बजेदेखि यातायात सञ्चालन गर्ने तयारी भए पनि कृष्णभिरमा पुनः पहिरो खसेपछि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

पहिरो पन्छाउने काम भइरहेको भए पनि निरन्तर वर्षाका कारण समस्या भइरहेको धादिङ प्रहरीले जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। अहिले सोही डाइभर्सनमा पहिरो खसेपछि राजमार्ग पुनः अवरुद्ध भएको हो।

यस्तै, पहिरोकै कारण कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–हेटौंडा आवतजावत प्रभावित भएको छ।

उता, कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा समेत पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा पहिरो खस्ने क्रम बढेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्