कोशी, बागमती र गण्डकीमा भारीदेखि धेरै भारी वर्षा



काठमाडौँ, असोज ९ । देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ६ः३५ बजेसम्म कोशी, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ।

लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा भएको विभागले जनाएको छ। देशका अधिकांश स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बङ्गालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा थप सक्रिय हुने पूर्वानुमान गरिएको छ। यसअघि विभागले असोज ९ देखि ११ गतेसम्म विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको थियो।

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ। सडक तथा हवाई यातायात र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्