रसुवा–भोटेकोशी बाढीपीडितका लागि तामाङ समाज यूएई अबुधाबीले १ लाख ५१ हजार सहयोग गर्ने
काठमाडौं,असोज ९। रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै तामाङ समाज यूएई अबुधाबीले श्रद्धाञ्जली तथा दीप प्रज्वलन एवं सहयोग घोषणा कार्यक्रम सम्पन्न गरेको छ।
बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति सहानुभूति र सहयोगको भावना व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाली राजदूतावास, अबुधाबीका श्रम सहचारी पंकज लाभकर्ण प्रमुख अतिथिका रूपमा सहभागी भई कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा नेपाली राजदूतावास, अबुधाबीका द्वितीय सचिव राधारमण दुब्बे, काभ्रे सेवा समाज यूएईका अध्यक्ष तथा तामाङ समाज यूएई अबुधाबीका प्रमुख संरक्षक बेत्ता घिसिङलगायत तामाङ समाज यूएई अबुधाबीका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षक–सल्लाहकार सदस्य कुमारसिंह तामाङको उपस्थिति थियो।
तामाङ समाज यूएई अबुधाबीका महासचिव जयराम वाइबाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा लामा पूजापाठ तथा धार्मिक विधिअनुसार बाढीपहिरोमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।
यसै अवसरमा तामाङ समाज यूएई अबुधाबीले बाढीपीडित परिवारलाई राहत पुग्ने उद्देश्यले रु. १ लाख ५१ हजार सहयोग गर्ने घोषणा गरेको छ। उक्त सहयोग रकम नेपाली राजदूतावास, अबुधाबीमार्फत नेपाल पठाइने समाजले जनाएको छ।
सहयोग रकम बाढीपीडित परिवारको राहत, उद्धार तथा आवश्यक मानवीय सहयोगमा सदुपयोग हुने विश्वास समाजले व्यक्त गरेको छ। विपद्को कठिन घडीमा पीडित परिवारसँग दुःख बाँड्दै मानवीय सहयोग र एकताको भावना आत्मसात् गर्दै सामाजिक उत्तरदायित्वप्रति निरन्तर प्रतिबद्ध रहने समाजले जनाएको छ।

