बेनी–जोमसोम–कोरला सडकमा चार दिन रातिको यातायात बन्द
मुस्ताङ,असोज ९। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा असोज ८ देखि ११ गतेसम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना जारी गर्दै म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरदेखि कोरला नाकासम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको जनाएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार उक्त अवधिमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न यातायातमा रोक लगाइएको प्रशासनले जनाएको छ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार बिहीबारदेखि चार दिनसम्म वर्षा र हिमपात हुने पूर्वसूचनालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो। वर्षाका कारण कालीगण्डकी करिडोरको मुस्ताङ खण्डमा बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्न सक्ने र सडक अवरुद्ध हुनसक्ने भएकाले यात्रुको सुरक्षालाई मध्यनजर गरी रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको उहाँले बताउनुभयो।
प्रशासनले उक्त अवधिमा सडकको अवस्था तथा मौसमलाई ध्यानमा राखी यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

