दुप्चेश्वरको ग्याल्वाङ ताइवा खोलामा पहिरो, तादी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



नुवाकोट,असोज ९ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीस्थित ग्याल्वाङ ताइवा खोलामा पहिरो गएको जानकारी प्राप्त भएको छ।

दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाका अनुसार घ्याङ्फेदी निवासी विष्णु तामाङबाट फेदीस्थित ग्याल्वाङ ताइवा खोलामा पहिरो गएको सूचना प्राप्त भएको हो। पहिरोको प्रकृति, क्षतिको अवस्था तथा पहिरोको मात्रा भने यकिन भइनसकेको अध्यक्ष थापाले जानकारी दिनुभएको छ।

पहिरोका कारण थप जोखिम निम्तिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै दुप्चेश्वर गाउँपालिकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। विशेषगरी तादी नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी आसपासबाट आवतजावत गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।

सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट पहिरोको अवस्था र हुनसक्ने क्षतिको थप विवरण संकलन भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्