कुशल र ललितको उत्कृष्ट बलिङमा नेपालले अफगानिस्तानलाई हरायो
काठमाडौं,असोज ९ । कुशल भुर्तेल र ललित नारायण राजवंशीको उत्कृष्ट बलिङसँगै नेपालले जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत टी–ट्वान्टी क्रिकेटमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले अफगानिस्तानलाई हराएको यो पहिलोपटक हो।
अफगानिस्तानले दिएको १ सय ३ रनको लक्ष्य नेपालले १७ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवातमै दुई विकेट गुमाएको थियो। कुशल भुर्तेल गोल्डेन डक आउट हुँदा आशिफ शेख २ रनमा आउट भए। त्यसपछि कुशल मल्ल पनि ९ रनमा पभेलियन फर्किए।
यसपछि सन्दीप जोराले ३५ बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाए। उनी रनआउट भए। १० ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर ५६ रन बनाएको थियो।
त्यसपछि दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले पाँचौँ विकेटका लागि ४६ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जिततर्फ अघि बढाए। दीपेन्द्र १५ रनमा आउट भए पनि रोहित पौडेल ३३ रनमा अविजित रहँदै नेपाललाई जित दिलाए।
अफगानिस्तानका लागि फारिदुन दोओदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले १–१ विकेट लिए।
यसअघि कारोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो।
नेपालका ललित नारायण राजवंशीले अफगानिस्तानका पहिलो क्रमका तीन ब्याटरलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाए। उनले ओपनर हसन इसाकिललाई डक आउट गराए भने मोहम्मद एकरामलाई २ र करिम जन्नतलाई ९ रनमा आउट गरे। १६ रनमै अफगानिस्तानले तीन विकेट गुमाएको थियो।
त्यसपछि कुशल भुर्तेलले लगातार चार विकेट लिए। उनले ३० रन बनाएका फैजल खानलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए। ७ रन बनाएका मोहम्मद इशाकलाई एलबीडब्लू आउट गरे। कप्तान डार्विस रसोलीलाई गोल्डेन डकमा एलबीडब्लूको धरापमा पारे भने ३० रन बनाएका नाजिबल्लाह जर्डानलाई करण केसीको हातबाट क्याच आउट गराए।
कुशलले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए। ललितले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए।
एसियाली खेलकुदमा जितबाट सुरुवात गरेको नेपालको यो जित टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अफगानिस्तानविरुद्धको पहिलो जित भएकाले विशेष बनेको छ। यसअघि सन् २०१४ को विश्वकपमा नेपाल अफगानिस्तानसँग ९ रनले पराजित भएको थियो।
नेपालले अब समूह चरणको अर्को खेलमा भोलि जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो।

