पहिरोले उत्तरी गोरखा जोड्ने सडक अवरुद्ध, सामागाउँमा दुई मिटरसम्म हिमपात



गोरखा,असोज ९। निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उत्तरी गोरखा जोड्ने बेनीघाट–आरुघाट–लार्के सडक पूर्णरूपमा अवरुद्ध भएको छ। धार्चे गाउँपालिका–३ अन्तर्गत तातोपानी, दोभान र कालोभीर क्षेत्रमा शुक्रबार बिहान करिब ११ बजे पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो।

यो सडकबाट धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न क्षेत्रका स्थानीय तथा मनास्लु क्षेत्र र लार्केपास जाने यात्रु आवतजावत गर्छन्। धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण तातोपानीदेखि जगतसम्म सडकका विभिन्न स्थानमा पहिरो खसेको छ। पहिरोसँगै माथिबाट ठूला ढुङ्गा खस्ने क्रम नरोकिएपछि उत्तरी गोरखाका अन्य ग्रामीण सडकसमेत प्रभावित भएका छन्।

ठूलो पहिरो खसेपछि गाउँपालिकाले उत्तरी गोरखा जाने यात्रु तथा सवारीसाधनलाई कम्तीमा तीन दिन अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। पहिरो पन्छाउन आवश्यक जेसीबीलगायतका उपकरण सम्बन्धित स्थानमा पु¥याउनसमेत लगातारको वर्षाका कारण समस्या भइरहेको गाउँपालिकाले जनाएको छ।

स्थानीय राज गोरखालीका अनुसार तातोपानी क्षेत्रमा पहिरोले सडक नै पुरिएपछि आवतजावत कठिन भएको छ। दोभान खोलामा आएको बाढीका कारण सवारीसाधन वारपार गर्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो। अण्डाडाँडा, दोभानखोला र कालोभीर क्षेत्रमा समेत पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएको उहाँको भनाइ छ।

अण्डाडाँडामा बाढीले सडकको केही भाग बगाएको छ भने दोभान खोलामा पानीको बहाव बढेपछि आवतजावत जोखिमपूर्ण बनेको छ। मौसम पूर्वानुमानअनुसार आइतबारसम्म वर्षा हुने सम्भावना रहेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिन हुने गाउँपालिकाको आकलन छ। मौसममा सुधार आए पनि सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन कम्तीमा एक साता लाग्न सक्ने जनाइएको छ।

उत्तरी गोरखाका दर्जनौँ ग्रामीण सडक पहिरोका कारण प्रभावित भएपछि स्थानीयको दैनिक आवतजावतसँगै अत्यावश्यक खाद्यान्न तथा अन्य सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा स्थानीय होटल व्यवसायी तथा व्यापारीसमेत प्रभावित भएका छन्।

यसैबीच, अविरल वर्षासँगै उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत सामागाउँ, प्रोक, ल्हो, चुम्चेत, छेकम्पार र विहीलगायतका क्षेत्रमा हिमपात भएको छ। सामागाउँका स्थानीय मिङमार लामाका अनुसार हिमपातका कारण घरबाहिर निस्कनसमेत कठिन भएको छ।

उहाँका अनुसार मनास्लु आधार शिविरतर्फका क्षेत्रमा करिब दुई मिटरसम्म हिमपात भएको छ भने बस्ती क्षेत्रमा समेत करिब एक मिटर हिउँ जमिसकेको छ। हिमपात हुने क्रम अझै नरोकिएको लामाले बताउनुभयो।

सडक अवरुद्ध र हिमपातका कारण उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ। वर्षा रोकिएपछि पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्