चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने यातायात महासङ्घको निर्णय
काठमाडौं,असोज ९ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायातलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन तथा टिकट बिक्रीमा अनलाइन बुकिङलाई प्राथमिकता दिन निर्देशन दिनुभएको हो ।
देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको महासङ्घले जनाएको छ । यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्रै सवारीसाधन सञ्चालन गर्न पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।
महासङ्घले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ ।उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको समेत प्रभावकारी अनुगमनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने जनाएको छ ।
यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने तथा अनधिकृत काउन्टर र परिचयपत्र वा पोसाक नलगाएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्य नियन्त्रण गर्न महासङ्घले निर्देशन दिएको छ । यात्रुले पनि आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट टिकट लिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।
सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिनुपर्ने र मादक पदार्थ सेवन गरी यात्रा गर्ने यात्रुमाथि आवश्यक कारबाही गर्नुपर्ने महासङ्घले जनाएको छ । चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको स्थानमा मात्रै यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था मिलाउन पनि भनिएको छ ।
बाढीपहिरो तथा सडक अवरोधको सम्भावनालाई ध्यानमा राख्दै मुख्य सडक तथा राजमार्गको निरन्तर निरीक्षण, आवश्यक मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ । चाडपर्वका अवधिमा आवश्यक सवारीसाधनको व्यवस्था गर्ने तथा यात्रुवाहक सवारीको रुट परमिट खुला गर्न आवश्यक पहल गरिने महासङ्घले जनाएको छ ।
यस्तै, अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको आवतजावतबारे सरोकारवालासँग छलफल गरी समयमै सूचना जारी गरिने भएको छ । लामो दूरीमा चल्ने सवारीसाधनका चालकको स्वास्थ्य अवस्था जाँच गर्ने, बिरामी चालकको सट्टा अर्को चालकको व्यवस्था गर्ने र लामो दूरीका सार्वजनिक सवारीसाधनमा कम्तीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था गर्न महासङ्घले आग्रह गरेको छ ।
अठार वर्ष उमेर पूरा नभएका नाबालकलाई चालक वा अन्य काममा नलगाउन तथा चाडपर्वका समयमा सवारीसाधनको चाप र सडक दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रभावकारी अनुगमन तथा निगरानी गर्न पनि महासङ्घले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
चाडपर्व नजिकिँदै गर्दा सडक तथा मौसमको अवस्थाबारे थप छलफल गरी अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र समयबारे आवश्यक सूचना पछि जारी गरिने महासङ्घले जनाएको छ ।

