पुल बगेपछि त्रिशुली अस्पताल पुग्न कठिनाइ, पिपलटारमा चार शय्याको आपतकालीन स्वास्थ्य केन्द्र



नुवाकोट, असोज १० । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा आपतकालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शुक्रबार केन्द्रको उद्घाटन गर्नुभयो। बाढीका कारण सडक तथा यातायात सम्पर्क विच्छेद भई जिल्ला अस्पताल त्रिशूलीसम्म पुग्न कठिनाइ भएपछि स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो।

बाढीले त्रिशूली नदीमाथिका ढुंगे–त्रिशूली बजार क्षेत्रका दुई पक्की पुल बगाएपछि नुवाकोटको पूर्वी भेगका नागरिकलाई सामान्य उपचारका लागि समेत जिल्ला अस्पताल पुग्न कठिनाइ हुँदै आएको थियो। यही समस्यालाई ध्यानमा राखेर बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, त्रिशूली अस्पताल र जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको साझेदारीमा पिपलटारमा चार शय्याको स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हो।

जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीका अनुसार केन्द्रबाट बाढी प्रभावित तथा अन्य बिरामीलाई प्रभावकारी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन थालिएको छ। पिपलटारस्थित आयुर्वेद अस्पतालको भवन तथा संरचनालाई व्यवस्थापन गरी केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो।

केन्द्र उद्घाटन गर्दै मुख्यमन्त्री थापाले विपद्का कारण कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर प्रदेश सरकारले आवश्यक स्रोतसाधन र जनशक्ति परिचालन गर्ने बताउनुभयो। उहाँले विपद्को परिस्थितिलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सञ्चालन गरिएको र यसबाट नुवाकोटवासीलाई आधारभूत उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता कम हुने बताउनुभयो।

बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा केन्द्रबाट आकस्मिक, बहिरंग तथा प्रसूति सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। केन्द्रमा स्वास्थ्य उपकरण, औषधि तथा आवश्यक जनशक्ति परिचालन गरिएको छ भने स्वास्थ्यकर्मी अन्य प्रादेशिक अस्पतालबाट समेत खटाइएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका अध्यक्ष शिवकुमार चित्रकारले पुल बगेपछि प्रादेशिक अस्पतालसम्मको पहुँच अवरुद्ध भएकाले आपतकालीन स्वास्थ्य केन्द्र सञ्चालनले प्रभावित नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो। उहाँका अनुसार पछिल्लो एक महिनादेखि विदुर र बेलकोटगढी नगरपालिका तथा लिखु, सूर्यगढी, तादी, दुप्चेश्वर, शिवपुरी र ककनीलगायत क्षेत्रका नागरिकलाई त्रिशूली अस्पताल पुग्न कठिनाइ भइरहेको छ।

स्वास्थ्य केन्द्रबाट आकस्मिक तथा आधारभूत उपचारसँगै भिडियो परामर्श सेवासमेत सञ्चालन गरिएको छ। आवश्यक स्वास्थ्यकर्मी अपुग भए अन्य प्रादेशिक अस्पतालबाट थप जनशक्ति खटाउने तथा आवश्यक परे करारमा स्वास्थ्यकर्मी नियुक्त गर्न बजेट व्यवस्थापन गरिने जनाइएको छ।

बाढीबाट क्षतिग्रस्त त्रिशूली बजार क्षेत्रको आवागमन सहज बनाउन विदुर नगरपालिकाको पहलमा बेलिब्रिज निर्माण भइरहेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो। पुल निर्माण सम्पन्न नहुँदासम्म स्वास्थ्य उपचारलगायत अत्यावश्यक सेवामा देखिएको समस्या समाधान गर्न पिपलटारको केन्द्र उपयोगी हुने अपेक्षा गरिएको छ।

केन्द्र उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतले बाढीपछिको अवस्था तथा पुनर्निर्माण र पुनःउत्थानका विषयमा धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्