लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक
चितवन,असोज १० । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन् ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार लगातारको वर्षाले अहिले दाना लाग्ने अवस्थामा रहेको धानबालीमा दानामा दाग लाग्ने तथा परागसेचन हुन नपाउँदा फोकटा दाना बस्ने समस्या आउन सक्छ । उहाँले भन्नुभयो, “लगातारको वर्षाका कारण पानीले फूल झार्ने हुन्छ । पछि फोकटा दाना हुन्छ र यो बेलाको झरीका कारण दानामा दाग लाग्ने रोग पनि निम्त्याउँछ ।”
उहाँले जिल्लाका विभिन्न पालिकामा धानमा समस्या देखिन थालेको बताउनुभयो । समस्या देखिएका स्थानमा स्थानीय तहका कृषि प्राविधिकसँगको समन्वयमा खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बढी समस्या भएका स्थानमा हामीले शिविर सञ्चालन गर्न थालेका छौँ । कार्यालयले भरतपुर महानगरपालिका–१४ पकौडीमा बाली उपचार शिविर आयोजना गरेको छ भने अब रत्ननगरमा पनि गर्ने तयारी छ ।”
समस्याको आधारमा शिविर सञ्चालन गरी किसानका समस्या समाधान गर्न कार्यालय लागिपरेको प्रमुख कँडेलले बताउनुभयो । कार्यालयकी बाली संरक्षण अधिकृत गीता केसीले कार्यालयमा दैनिकरूपमा धानमा देखिएको समस्या लिएर आउने किसानको सङ्ख्या बढेको बताउनुभयो । कार्यालय नजिकका किसान कार्यालय मै आउने र अन्य स्थानका किसानले सम्बन्धित स्थानीय तहमा समस्या जानकारी गराउने गरेको उहाँले बताउनुभयो । धानमा देखिएको समस्या लिएर कार्यालयमा आउने किसानको सङ्ख्या बढेपछि बाली उपचार शिविर सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार जिल्लामा अहिले धानमा एउटा मात्रै रोग नभई विभिन्न रोग तथा किराको समस्या देखिएको छ । खाद्यतत्वको कमी, गबारो, पात बेरुवा, पात मरुवा, पातको फेद डढुवा, मरुवा रोग, ब्याक्टेरियल ब्लाइट र फेद डढुवालगायतका समस्या देखिएको उहाँले बताउनुभयो ।
यद्यपि, हालसम्मको स्थलगत अवलोकन र किसानबाट प्राप्त समस्याको अवस्थालाई हेर्दा रोग नियन्त्रणबाहिर भने नगएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिम चितवनमा हेर्दा हामीले उपचार गर्दा र किसानलाई सजग बनाउँदा रोग नियन्त्रणबाहिर गएको छैन ।”
रोग नियन्त्रणका लागि पालिकाका कृषि प्राविधिकसँगको समन्वयमा उपचार तथा किसानलाई आवश्यक सुझाव दिँदै आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार विशेषगरी सावाँ मन्सुली र सावित्री जातको धानमा समस्या बढी देखिएको छ । हर्दिनाथ–६ जातको धानमा पनि केही क्षेत्रमा समस्या देखिन थालेको उहाँले जानकारी दिनुभयो ।
धानमा समस्या देखिनुमा मौसमसँगै खाद्यतत्वको कमी पनि कारण रहेको उहाँले बताउनुभयो । धानमा विशेषगरी पोटास र जिङ्कको कमी देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “किसानले डीएपी र युरिया मात्रै बढी दिनुभयो, तर धानमा पोटास र जिङ्कको कमी पनि देखिएको छ ।”
लगातार पानी पर्ने र फेरि तापक्रम उच्च हुने अवस्थाले पनि धानमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।
प्रमुख कँडेलले लगातार पानी परिरहेकाले पानी बगाउन मिल्ने खेतमा निकासको व्यवस्था गर्न किसानलाई सुझाव दिनुभयो । यस वर्ष धानमा समस्या बढ्नुमा मौसमको अवस्थालाई पनि प्रमुख कारण मानिएको छ । धान रोप्ने समयदेखि नै बढी पानी परेको र पछिल्लो समय पानी तथा घामको क्रमिक प्रभावले बालीमा विभिन्न समस्या देखिएको उहाँले बताउनुभयो ।
धानमा देखिएका रोग तथा किराको व्यवस्थापनमा जैविक विधिलाई प्राथमिकता दिनुपर्ने र रासायनिक विषादी प्रयोग गर्नुपर्ने अवस्था आएमा सुरक्षित तथा सिफारिस गरिएको मात्रामा मात्र प्रयोग गर्न किसानलाई सुझाव दिइएको छ ।
कार्यालयले समयमै किसानका समस्या सुन्ने र खेतमै पुगेर बाली उपचार शिविर सञ्चालन गरी समस्या नियन्त्रणमा लिन आवश्यक प्रयास गरिरहेको जनाएको छ । यसका लागि स्थानीय तहका कृषि प्राविधिक तथा अन्य कृषि विज्ञ एवं प्राविधिकको सल्लाह र समन्वयमा काम भइरहेको कार्यालयले जनाएको छ ।

