भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ को शव फेला, ५ हजार ५५० अझै बेपत्ता



काठमाडौँ, असोज १० । रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ। गत भदौ १० गते बिहान आएको अकल्पनीय बाढीले रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीबाट हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन्। बाढी प्रभावितमध्ये १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका कतिपय प्रभावित अझै अस्थायी आश्रयस्थलमा बसिरहेका छन्। खोज, उद्धार, राहत तथा अन्य मानवीय सेवामा तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन्।

बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। यस्तै ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य ऊर्जा आयोजना प्रभावित भएका छन्।

बाढीका कारण ६९ किलोमिटर सडकखण्डमा क्षति पुगेको छ। ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकामा ३३ वटा बगेका छन् भने ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। करिब ८ हजार ३०० घरपरिवारका ४० हजार जनसंख्या बाढीबाट प्रभावित भएका छन्। उत्पादन क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। १ हजार ८०६ हेक्टर कृषि बाली प्रभावित हुनुका साथै पशुपालन, पक्षीपालन तथा माछापालनमा समेत असर परेको छ। १७ बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठान पनि प्रभावित भएका छन्।

बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका काम जारी छन्। क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण तथा सडक सञ्जाल पुनःस्थापना गरी प्रभावित क्षेत्रलाई आवागमनमा जोड्ने काम पनि तीव्र पारिएको छ।

संकटमा राज्य र रेडक्रसको उपस्थिति

बाढी गएको लगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंको पहलमा आपत्कालीन सहयोग कोषमार्फत १२ लाख अमेरिकी डलर परिचालन गर्न स्वीकृति सुनिश्चित गरिएको थियो। उक्त सहयोगबाट बाढी प्रभावितको तत्काल खोज, उद्धार तथा राहतमा नेपाल रेडक्रसका स्वयंसेवक र अन्तर्राष्ट्रिय महासङ्घका टोली परिचालन गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गर्दै सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकलाई खोज तथा उद्धारमा परिचालन गरेको थियो। सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीको नेतृत्वमा टोलीले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रतिकार्यलाई अघि बढाएको थियो।

रेडक्रसका स्वयंसेवकले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा भूमिका निर्वाह गरेका थिए। आपत्कालीन सहयोग कोषबाट खानेपानी, टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, प्राथमिक उपचार सामग्री, स्ट्रेचर, शव व्यवस्थापनका झोला, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, आपत्कालीन स्वास्थ्य सेवा र सरसफाइ सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो।

महासचिव चापागाईंका अनुसार आपत्कालीन सहयोग कोष समयमै निकासा हुँदा बाढी प्रतिकार्यमा तत्काल सहयोग पुगेको थियो। उहाँले स्वयंसेवकसहित उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न र प्रभावितलाई आवश्यक राहत सामग्री उपलब्ध गराउन सम्भव भएको बताउनुभयो। यसबाट अकाल मृत्यु, रोग तथा थप मानवीय पीडा घटाउन सहयोग पुगेको र संकटका बेला राज्य तथा रेडक्रसको उपस्थिति रहेको अनुभूति समुदायमा गराउन मद्दत पुगेको उहाँको भनाइ छ।

भोटेकोशी बाढी आकस्मिक रूपमा आएको ‘फ्ल्यास फ्लड’ भएकाले स्रोत परिचालन पनि तीव्र गतिमा भएको चापागाईंले बताउनुभयो। उहाँले भोटेकोशी बाढी प्रतिकार्यलाई जलवायु संवेदनशील मानवीय प्रतिकार्यको महत्वपूर्ण नमुना बन्न सक्ने बताउनुभयो।

नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालले बाढी गएको सुरुआती दिनदेखि नै प्रतिकार्य निरन्तर सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल आवास तथा गैरखाद्य सामग्री, खाद्य सामग्री, खानेपानी, सरसफाइ, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, आपत्कालीन स्वास्थ्य सेवा, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना र बहुउद्देश्यीय नगद तथा भौचर सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन्।

एक महिनामा हजारौँ प्रभावितलाई सहायता

नेपाल रेडक्रसका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीअन्तर्गत १ हजार २१८ सेट, ५६३ त्रिपाल, ७०१ म्याट्रेस र १ हजार ३२४ कम्बल वितरण गरिएको छ। करिब २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ।

एक महिनाको अवधिमा २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको छ। १८ वटा पानी ट्याङ्की व्यवस्थापन गर्नुका साथै आवश्यक स्थानमा ट्याङ्करमार्फत पानी वितरण गरिएको छ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगबाट १ हजार ७१० बाढी प्रभावित लाभान्वित भएका छन्। रेडक्रसका आपत्कालीन स्वास्थ्य क्लिनिकबाट १ हजार २३९ जनाले स्वास्थ्य परीक्षण, औषधि तथा अन्य आवश्यक सेवा पाएका छन्। परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाअन्तर्गत २ हजार २९१ खोजतलाससम्बन्धी घटनामा सेवा तथा सहजीकरण गरिएको छ।

नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई २ हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको रेडक्रसले जनाएको छ।बहुउद्देश्यीय नगद तथा भौचर सहयोगअन्तर्गत धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई तत्कालीन आवश्यकता पूरा गर्न नगद सहयोग उपलब्ध गराइएको छ। समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव सङ्कलन गरी आवश्यक जानकारी, सहजीकरण तथा सम्बन्धित निकायमा पठाउने काम गरिएको छ।

संरक्षण, लैङ्गिक तथा समावेशीकरणअन्तर्गत ५८७ मर्यादा किट र १ हजार ८७ स्वच्छता किट वितरण गरिएको छ। बालमैत्री सुरक्षित स्थानमार्फत १ हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराइएको रेडक्रसले जनाएको छ।

प्रभावित समुदायलाई सूचना तथा आवश्यक सहयोग उपलब्ध गराउन विभिन्न १७ स्थानमा सहायता तथा सूचना कक्ष सञ्चालन गरिएको छ। बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना, सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य, परिवार पुनर्मिलन, राहतमा पहुँच तथा नगद सहायता सम्बन्धी सूचना सामग्री रेडक्रसको सामाजिक सञ्जाल र रेडियोमार्फत प्रचारप्रसार गरिएको छ।

नेपाल रेडक्रसले विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने जनाएको छ। प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना पनि रेडक्रसले अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्