कृष्णभीरमा पुनः सडक भासियो



नारायणगढ, असोज १० । पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरमा पुनः सडक भासिएको छ। भदौ १४ गते सडक भासिएपछि असोज १ गते डाइभर्सनमार्फत राजमार्ग सञ्चालनमा ल्याइएको थियो।

शुक्रबार बिहान डाइभर्सनसँगैको ग्याबिन वाल भासिएर त्रिशूली नदीतर्फ खसेपछि करिब २५ मिटर सडक प्रभावित भएको हो। सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि कृष्णभीरमा जोखिम कायमै रहेको आयोजनाले जनाएको छ।

त्रिशूली नदीको कटान र अविरल वर्षाका कारण कृष्णभीरसहित पृथ्वी राजमार्गका मुग्लिन, ज्यामिरेघाट, परेवा भिर र शीतलबजारलगायत स्थानमा पहिरो गएको छ। धारापानीमा समेत करिब २० मिटर सडक भासिएको छ।

यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डमा ८० भन्दा बढी स्थानमा पहिरो गएको छ। ३१ किलोमा सडक भासिएको छ भने कालिखोला, सिमलताल, तुइन खोला, नाम्सी खोला, चार किलो र मौरी खोलालगायत क्षेत्रमा पहिरो जाने क्रम जारी रहेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्