बाढीपीडितको पुनःस्थापनाका लागि विदुरमा एक हजार रोपनीभन्दा बढी जग्गा प्रस्ताव



नुवाकोट, असोज १० । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट घरबारविहीन भएकाहरूको पुनःस्थापनाका लागि नुवाकोटमा जग्गा छनोटको काम भइरहेको छ ।

विदुर नगरपालिकाले बाढीपीडितको पुनःस्थापना उनीहरूको अधिकारको विषय भएको भन्दै नगर क्षेत्रभित्रै जग्गा प्रस्ताव गरेको छ । त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकको पुनःउत्थानका लागि विदुर नगरपालिका–२ स्थित कित्ता नम्बर ६०३ अन्तर्गत राममन्दिर क्षेत्र आसपासको एक हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा बस्ती निर्माणका लागि प्रस्ताव गरिएको नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

नगर प्रमुख श्रेष्ठले प्रस्तावित जग्गाका विषयमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई जानकारी गराएका छन् । उनले पूर्वमुख्यमन्त्री बहादुरसिंह लामातामाङ, आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत सरोकारवालालाई स्थलगत अवलोकन गराई बस्ती निर्माणको सम्भाव्यता, अवसर र चुनौतीबारे जानकारी गराएका छन् ।

प्रस्तावित क्षेत्र भविष्यमा बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट तुलनात्मक रूपमा सुरक्षित रहेकाले बस्ती निर्माणका लागि उपयुक्त रहेको नगर प्रमुख श्रेष्ठले बताए । संघीय सरकारले पुनर्निर्माणसम्बन्धी निर्णय गरेपछि पुनःस्थापनाको काम अघि बढाउन सकिने मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरूले जानकारी दिएको उनले बताए ।

आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले पुनर्निर्माणका लागि आवश्यक कार्यविधि बनेमा एक हजार घर निर्माण गर्न बागमती प्रदेश सरकारसँग बजेट विनियोजन भएकाले तत्काल काम अघि बढाउन सकिने जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीबाट विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्