बाढीपछि नुवाकोटमा आपतकालीन पोषण लेखाजोखा कार्यक्रम सञ्चालन
नुवाकोट, असोज १० । स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले नुवाकोटमा आपतकालीन पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गरिएको छ । बाढीपछि प्रभावित समुदायमा स्वास्थ्य तथा पोषणसम्बन्धी जोखिम पहिचान गर्न विदुर नगरपालिकाले समुदायस्तरमै पुगेर कार्यक्रम सञ्चालन गरेको हो ।
विदुर नगरपालिका–५ को गंगटे चोक, माझीटार तथा सहरी स्वास्थ्य केन्द्रबाट आपतकालीन पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।
विपद्का समयमा खानेकुराको उपलब्धता, खानपान तथा स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने भएकाले गर्भवती महिला, सुत्केरी आमा तथा ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थालाई कार्यक्रममा विशेष प्राथमिकता दिइएको छ ।
‘कोही पनि नछुटौँ, सबैको पोषण लेखाजोखा गराऔँ, समयमै पोषण पहिचान–स्वस्थ आमा र स्वस्थ बालबालिकाको आधार’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा बालबालिकाको वृद्धि तथा पोषण अवस्था जाँच गर्नुका साथै पोषणसम्बन्धी आवश्यक जानकारी र परामर्श दिइने जनाइएको छ ।
पोषणको कमी वा जोखिम समयमै पहिचान गर्न सके आवश्यक स्वास्थ्य सेवा तथा थप उपचारका लागि समयमै पहल गर्न सहज हुने वडा अध्यक्ष लीलानाथ न्यौपानेले बताए । कार्यक्रमले बालबालिकाको स्वस्थ वृद्धि–विकास र आमाको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।
विदुर नगरपालिका–५ का विभिन्न टोल तथा समुदायमा रहेका गर्भवती महिला, सुत्केरी आमा र ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिका कार्यक्रममा सहभागी भएका छन् ।

