गोठमा सुतिरहेका बेला भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु



डोल्पा, असोज १० । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शुक्रबार राति करिब ९ः४५ बजे रावलबाडाका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका बेला वर्षासँगै भिरबाट ढुङ्गा खसेर उनीहरूलाई लागेको थियो।

ढुङ्गाले लागेर मनरुप केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। चन्द्ररुप केसीको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली र घटनास्थल अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्