नुवाकोट तारुकामा स्वास्थ्य प्रयोगशाला सञ्चालन, गाउँमै स्वास्थ्य परीक्षणको सुविधा
नुवाकोट,असोज ११ । गाउँवासीलाई सहज रूपमा स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका–३, जोरचौतारास्थित तारुका स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको छ।
बाढी प्रभावित तथा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले स्थापना गरिएको प्रयोगशालाको शनिबार तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा अध्यक्ष अधिकारीले गाउँपालिकाकै पहिलो स्वास्थ्य प्रयोगशालाबाट आमसर्वसाधारणले सहज र प्रभावकारी स्वास्थ्य सेवा लिनुपर्नेमा जोड दिए। उनले ग्रामीण स्वास्थ्य सेवाको क्षेत्रमा प्रयोगशाला सञ्चालन महत्वपूर्ण उपलब्धि भएको बताए।अध्यक्ष अधिकारीले गाउँपालिकाअन्तर्गतका अन्य स्वास्थ्य केन्द्रमा समेत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न गाउँपालिका प्रयत्नरत रहेको बताए।
प्रयोगशाला सञ्चालनमा आएसँगै रगत, खकार, दिसा र पिसाबलगायतका माध्यमबाट गरिने विभिन्न स्वास्थ्य परीक्षण सेवा नियमित रूपमा उपलब्ध हुने भएको छ। यसबाट सामान्य स्वास्थ्य परीक्षणका लागि सहरसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने तारकेश्वर गाउँपालिका–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताए।

