प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमणमा प्रस्थान



काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो २ः०५ बजे नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो।

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गर्नुभएको थियो।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

वार्ताका क्रममा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ। दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन तथा केही नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका समझदारीपत्र आदानप्रदान गरिने जनाइएको छ।

प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। भारतको राजकीय भ्रमण सम्पन्न गरी उहाँ मंसिर ७ गते साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्