बाढी प्रभावितका लागि पिपलटारमा आकस्मिक स्वास्थ्य केन्द्र, दैनिक बढ्दै सेवाग्राही
नुवाकोट,असोज १२– लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि नुवाकोटको पिपलटारमा सञ्चालन गरिएको आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बाढीपीडितले सेवा लिइरहेका छन्। केन्द्रमा दैनिक सेवाग्राहीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्।
बाढीका कारण विस्थापित तथा उपचारका लागि जिल्ला अस्पतालसम्म पुग्न कठिनाइ भएका नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विदुर नगरपालिका–५ पिपलटारस्थित जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको हो।
आइतबार मात्रै उक्त केन्द्रमा ४२ जना बिरामीले आकस्मिक स्वास्थ्य सेवा लिएका त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए। सेवा लिनेमा २४ पुरुष र १८ महिला रहेका छन्।त्यस्तै, नौ जनाले प्रयोगशाला सेवा, चार जनाले भर्ना सेवा र चार जनाले अल्ट्रासाउन्ड सेवा लिएका थिए। दुई जना बिरामी डिस्चार्ज भएका छन् भने ८३ वर्षीया एक वृद्धालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको डा. लामाले बताए।
बाढीले जिल्ला अस्पताल रहेको कोलोनीतर्फ जाने सडक तथा यातायात सम्पर्क प्रभावित भएपछि बाढीपीडितलाई उपचारका लागि पिपलटारमा आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको हो। त्रिशूली नदीमाथिका ढुंगे र त्रिशूली बजारबीचका दुईवटा पक्की पुल बाढीले बगाएपछि अस्पतालसम्मको सहज पहुँच टुटेको थियो।
बागमती प्रदेश सरकारको पहलमा त्रिशूली अस्पताल नुवाकोट, जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय पिपलटार र प्रदेश सरकारको साझेदारीमा केन्द्र सञ्चालनमा ल्याइएको हो। चार शय्याको उक्त केन्द्रबाट बाढी प्रभावित तथा स्थानीय नागरिकलाई नियमित स्वास्थ्य उपचार सेवा प्रदान भइरहेको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए।
उनका अनुसार अस्पतालसम्म पुग्न कठिनाइ भएका नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन केन्द्र प्रभावकारी बनेको छ। बाढी प्रभावितको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै सेवा नियमित रूपमा सञ्चालन गरिने उनले बताए।
यसैबीच, त्रिशूली अस्पतालमा उपचाररत बिरामीका लागि रगतको अभाव हुन नदिन नुवाकोटको बट्टारमा आकस्मिक रक्तदान कार्यक्रमसमेत गरिएको छ। अस्पतालमा उपचार गराइरहेका बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तसञ्चार केन्द्र नुवाकोटकी प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिइन्।

